मलेसियामा लुटिएँ अस्ट्रेलियामा झन्डै मरेँ

काठमाडौं, असार ५ । दोलखा, क्षेत्रपा–७ का २६ वर्षीय दीपक खत्रीले विश्व साइकल यात्रा सुरु गरेको आठ वर्षमा ७४ देश घुमिसकेका छन् । स्वदेशका ७५ वटै जिल्लाको भ्रमण गरेपछि भारत हुँदै विश्व साइकल यात्रा थालेका उनीसँग अनेक हन्डर र ठक्कर खाएको अनुभव छन् । जतिसुकै समस्या परे पनि आफ्नो यात्रा नरोकेका उनले नयाँ पत्रिकाका टेकराज थामीसँग आफ्नो विश्व साइकल यात्राका विविध प्रसंग सुनाए:
मलेसियामा लुटिएँ
सिंगापुर जाने क्रममा मलेसियाको लार्किम सहरमा रात पर्‍यो । होटेलको खोजीमा लागेँ । बल्लतल्ल सामान्य होटेल भेटियो । दिनभरिको थकाइले भुसुक्कै निदाएछु । मध्यरातमा ढोका ढक–ढक गर्‍यो । कसले ढकढक्यायो भनेर डर लाग्यो । त्यसकारण, सुरुमा त ढोकै खोलिनँ । तर, निकैबेर ढकढक्याएकाले होटेलकै कर्मचारी होला भन्ठानेर ढोका खोलेँ ।
एकाएक तीनजना अपरिचित कोठामा प्रवेश गरे । एकजना ढोकामा उभियो । अर्कोले मलाई समात्यो । तेस्रोचाहिँले झोला खोतल्न लाग्यो । झोलामा पासपोर्ट थियो । भुइँमा फालिदियो । मैले खुट्टाले कुल्चेर बसँे । मेरो पाइन्ट खोतल्यो । पर्समा २८ सय रिंगेट थियो । पैसा, मोबाइल, क्यामेरा सबै झिक्यो । त्यसपछि मलाई नबोल्ने इसारा गर्दै उनीहरू त्यहाँबाट अलप भए । म डराउँदै होटेलको काउन्टरमा पुगँे । गुनासो गरँे । होटेलका कर्मचारीले फोटो देखाए । फोटो चिनिनँ । अनि पो थाहा पाएँ, त्यहाँ त सधैँ यात्रु लुटिँदा रहेछन् ।
मसँग भएको सबै पैसा लुटियो । मलेसियाको भिसा त्यही दिन सकिँदै थियो । म कुनै हालतमा सिंगापुर जानुपर्ने थियो । म होटेलबाट हिँडेँ । हिँड्ने क्रममा नेपालीले चलाएको आइएमईको काउन्टर पुगेँ । त्यहाँ आफ्नो दु:ख पोखँे । त्यहाँबाट मैले केही रकम सहयोग पाएँ । त्यसपछि म सिंगापुर लागेँ ।
१८ दिन सडकमै बास
म थाइल्यान्डको सुकुमिट सहरमा थिएँ । मलाई इन्डोनेसिया जानुपर्ने थियो । तर, पर्याप्त पैसा थिएन । होटेलले प्रत्येक रातको सय डलरभन्दा धेरै रकम लिन्थ्यो । त्यसैले मैले एउटा जुक्ति निकालँे । थाइल्यान्डका सहर चौबिसै घन्टा खुला रहन्छन् । त्यहाँका रेस्टुरेन्ट तथा क्याफे कहिल्यै पनि बन्द हुँदैनन् ।
त्यही कुराको सदुपयोग गर्ने जुक्ति आयो । निद्रा लाग्यो भने कुनै क्याफेमा पुग्थेँ । कफी अर्डर गर्थेँ । अनि तीन घन्टा त्यही क्याफेमा बस्थँे । साहुले कराउने डरले फेरि अर्को क्याफे जान्थँे । कफी अर्डर गर्थेँ । फेरि तीन घन्टा बस्थँे । मेरो निद्रा यसरी नै पूरा गर्थेँ । यसरी मैले १८ दिन सडकमै बिताएँ । सहयोग मिलेपछि बल्ल मैले सहर छाडँे ।
भियतनामी केटीको प्रेमप्रस्ताव
कम्बोडियाको सनपेन सहरमा थिएँ । लाओस जानुपर्ने थियो, तर पैसा थिएन । सहयोग माग्ने ठाउँ पनि थिएन । त्यसैले नेपालमा फोन गरँे । साथीहरूसँग ऋण मागेँ । केही रकम प्राप्त भएपछि होटेल बुक गरेँ । होटेलको ठीक अघिल्तिर डान्स बार रहेछ । मलाई जान मन लग्यो । डान्स बार पुगेँ । नजिकै उभिएँ । एउटी राम्री केटी मेरो छेउमा आई । मसँग गफ गर्न इच्छा गरी । म पनि लोभिएँ । गफ गर्दै गएँ ।
गफमा पाँच घन्टा बितेछ । यसक्रममा थुप्रै रेडबुल पिइएछ । निद्रा लाग्यो । म केटीसँग बिदा भएँ । होटेल आएर सुतेँ । बिहान त होटेलमा पुलिस पो आयो । ती पुलिससँग अघिल्लो रात भेट भएकी केटी थिई । पुलिसले मलाई

पक्राउ गर्न खोज्यो । मैले कारण खोजेँ । पछि थाहा भयो । गए राति जबर्जस्ती गरेको भन्दै केटीले प्रहरीकहाँ उजुरी गरिछे । त्यसबापत त्यो केटीले मसँग सय डलर क्षतिपूर्ति माग गरेकी रहिछे । म निर्दोष थिएँ । मैले दिन इन्कार गरेँ । तर, केटी र पुलिस मान्दै मानेनन् । अन्त्यमा सय डलर दिनै पर्‍यो । पैसा दिएर म त्यहाँबाट बल्लतल्ल फुत्किएर लाओस लागेँ । सय डलर दिएपछि केटीले मलाई आई लभ यू म्यान भनी । जवाफमा मैले पनि आई लभ यू ठोकेँ ।
बीस दिनपछि भात खाए
म कम्बोडियाको पोइपेट सहरमा थिएँ । त्यहाँ खानामा मासु मुख्य रहेछ । त्यसमा पनि बंगुरको मासु विशेष रहेछ । म त्यति मासु नखाने । त्यसमा पनि बंगुर त मलाई मनै पर्दैन । तर, त्यहाँ बंगुरविनाको खाना नै नपाइने रहेछ । साह्रै समस्या पर्‍यो । पेट भर्न फलफूल खान थालँे । तर, भात खाएजस्तो हुँदै नहुने । शरीर गल्न थाल्यो । म खानाको खोजीमा भौँतारिन थालेँ ।
बीस दिनपछि एकजना नेपालीसँग भेट भयो । उनी स्थानीय क्यासिनोमा काम गर्ने रहेछन् । उनलाई समस्या भनेँ । उनले नेपाली खाना पाइने एउटा होटेलमा लगेर पेटभरि खाना खुवाए ।
नौ दिन पानीजहाजमा बिताए
बु्रनाईबाट मंगोलिया जाने क्रममा मसँग पैसै थिएन । पानीजहाजका कर्मचारीसँग अनुरोध गरेँ । सामान बोक्ने एउटा पानीजहाजले यात्रा गर्दा लाग्ने भाडा नलिने वचन दियो । म त्यही सिपमा चढेँ । सिप निकै ठूलो थियो । नौ दिनसम्मको निरन्तर यात्रापछि म मंगोलिया पुगेँ । त्यसअघि पाँच दिनसम्मको निरन्तर सिपयात्रा पनि मेरा लागि अविष्मरणीय छ । सिंगापुरबाट इन्डोनेसिया जाने क्रममा पानीजहाज चढेँ । त्यहाँ एउटा भियतनामीसँग भेट भयो । पाँच दिनसम्मको यात्रामा ऊ साथी बन्यो । मैले लाओसमा मान्छे मारेर मासु बिक्री गर्ने गरेको सुनेको थिएँ । उसलाई सोधेँे । उसले होइन भन्यो । हामी निकै आत्मीय भएछौँ । छुट्टिँदा दुवै भावुक भएका थियौँ । नयाँ पत्रिकामा खबर छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment