![]() |

अत्यधिक वर्षाका कारण आएको बाढीले इन्द्रावती नदी किनारका अन्न उब्जाएर खाने खेत वर्षैपिच्छे कटान गर्ने गरेकाले सिन्धुपाल्चोक जिल्लाका किसान चिन्तित बनेका छन् ।
जिल्लाको इन्द्रावती नदी र मेलम्ची नदीले खेत कटान गर्ने गरेकाले अन्न उब्जाउ गरेर खाने खेतसमेत घट्दै गएको र रोकथामका लागिसमेत केही पहल नभएकाले ग्यालथुम, मेलम्ची, शिखरपुर, फटकशीला, बाडेगाउँलगायतका क्षेत्रमा बाढीले तीव्र रूपमा खेत कटान गर्न थालेको छ ।
जिल्लाका अधिकांश क्षेत्रमा बाढीले खेत नै बगाएर खाद्यान्नको चरम अभाव भोग्नुपर्ने अवस्था रहेका धेरै उदाहरण छन् । बाढीले खेत कटान गरी लगेको र बाँकी रहेको पनि पहिरोले नदीमा बगाएकाले समयमा नै नदी रोकथाम नहुँदा यस्तो समस्या झेल्नुपरेको कृषक टोमशङ्कर दुलाल बताउनुहुन्छ ।
इन्द्रावती नदी किनारमा रहेको ग्यलथुमदेखि फटकशीलासम्मको करिब १५ किमीको क्षेत्रमा नदीले दुई ठाउँबाट कटान गरी सयौँ रोपनी जग्गा बगरमा परिणत भएको बाडेगाउँका स्थानीयवासी पासाङ तामाङले बताउनुभयो । भूकम्पले घर र बाढीले खेत लगेपछि पीडामाथि पीडा थपिँदै गएको पीडितको गुनासो छ । बाढीले खेत कटान गर्न थालेपछि स्थानीयवासी ठूलो समस्यामा परेका छन् । भूकम्पको पीडासँगै पहिरो र बाढीको पीडा खेप्नुपरेको उनीहरूको गुनासो छ ।
आम्दानीको मुख्य स्रोत रहेको खेतमा नदी बग्न थालेपछि मेलम्ची नगरपालिका¬–१२ का नवराज सापकोटा निद्रामा पनि खेतकै सपना देख्न थालेको र भएको खेत पनि नदीले कटान गरी बगर बनेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको बताउनुहुन्छ । अविरल वर्षासँगै आएको बाढीले जग्गा बगाएपछि पूरै शिखरपुरवासी चिन्तित बनेका छन् । दिनहुँ थोरैथोरै गरी खेत कटान गरिरहेको छ, केही ठाउँमा रोकथामका लागि ग्याविन हाले पनि ठूलो बाढी आयो भने बगाइहाल्ने स्थानीयवासी भवनाथ दाहाल बताउनुहुन्छ ।
शिखरपुरका कृषक भीमप्रसाद दुलालले त्यही खेतबाट उत्पादित अन्न बेचेर परिवार पाल्ने र पढाउने गर्थे अरू केही मात्रामा खेत भए पनि उब्जा धेरै हुने बगरमै खेत बढी भएकाले उनी मुख्य बगरको खेतमै आश्रित थिए तर पछिल्लो समय नदीले खेत कटान गरेपछि उनलाई परिवार पाल्न र पेटभरि खान नपाउने चिन्ताले सताउने गरेको छ ।
बर्सेनि नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्तीतिर सोझिने हुँदा मेलम्ची बगरमा अवस्थित माझीबस्ती उच्च जोखिममा परेको स्थानीयवासी शेरबहादुर माझीले बताउनुभयो । यस क्षेत्रको प्रमुख समस्याका रूपमा रहेको नदी कटान र पहिरो हो तर स्थानीयवासीले पटक पटक सम्बन्धित निकायमा जानकारी गराउँदासमेत जति मात्रामा रोकथामका लागि पहल हुनुपर्ने हो त्यति नभएको स्थानीयवासीको गुनासो छ ।
![]() |

0 comments:
Post a Comment